काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट फर्किएका सञ्जय ओझालाई दुर्व्यवहार गर्ने तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ । उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
‘थप छानबिनको लागि भनेर तीन जनालाई रानीपोखरी तानिएको छ’, एसएसपी राठौरले भने । 
विमानस्थल प्रहरीले विदेशबाट फर्किएका एक नागरिकलाई लछारपछार गरेको थियो । उक्त भिडियोमा बर्दीमा रहेका प्रहरी तथा ट्राफिक प्रहरीले मुक्का हान्दै, लछार्दै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन कक्षतर्फ लगेका छन् ।
प्रहरीले यसरी लछारपछार पार्दै लात्ती र मुक्का प्रहार गरेका ती युवक दुबईबाट नेपाल फर्किएका मोरङका सञ्जय ओझा हुन् । उक्त भिडियो चैत ३१ गतेको हो । जहाँ नेपाल प्रहरीका हवल्दार लगायत अन्य प्रहरीले सञ्जयलाई ‘ट्याक्सी वे’ बाट लछारपछार गर्दै भित्र लगेर मुक्का प्रहार गरेका छन् भने भित्तामा टाँसेर ‘बुट’ले खुट्टामा समेत हानेका छन् ।
रोजगारीको सिलसिलामा दुबईमा रहेका सञ्जय आफन्तको विवाहका लागि १० दिनको छुट्टी लिएर नेपाल आएका थिए । तर विमानस्थलमा ट्याक्सीसँग विवाद हुँदा उनी प्रहरीबाट कुटिएका हुन्।
सिधाकुरासँग सम्पर्कमा आएका ओझाका अनुसार हिमालय एयरलाइन्सबाट विमानस्थलमा झरेपछि उनीहरू नियमित प्रक्रिया अनुसार नै बाहिरिँदै थिए । भन्सार जाँच पासमा लगेज चेकजाँच गरेर उनीहरू सरासर नै बाहिरिएका थिए ।
उनका अनुसार उनी आगमन कक्षबाट बाहिर निस्किएपछि लगेज ट्रलीमा हालेर आगमन कक्षको ढोका बाहिर कुरिरहेका थिए । त्यही बेला एक जना व्यक्ति आएर उनलाई ‘ट्याक्सी चाहिने हो’ भन्दै सोधे । तर उनले हैन भनेपछि ती व्यक्तिले त्यहाँ ट्रली राख्न नपाइने भन्दै उनलाई हकार्न थाले ।
ती व्यक्तिसँग सञ्जयले यसअघि आउँदा ट्याक्सीसम्म ट्रली लैजान पाएको बताए । त्यसपछि पनि ती व्यक्तिले आफू विमानस्थलको कर्मचारी भएको र ट्रली लान नपाउने दाबी गर्न थाले । त्यसपछि सञ्जयले ती व्यक्तिको कार्ड देखाउन भने । ती व्यक्तीले कार्ड देखाउनुको सट्टा उल्टै हप्काउन खोजपछि सञ्जयले नै प्रहरीलाई बोलाए ।
तर प्रहरी आएपछि उल्टै सञ्जयलाई थर्काउन थाले । त्यसपछि उनी आगमन कक्षबाट बाटो क्रस गरेर पार्किङतिर सोझिँदै फोन निकालेका मात्रै थिए, ती प्रहरी आएर उनलाई झनझनै थर्काउन थाले, त्यस बेला उनले भिडियो कैद गर्न सुरु गरेका थिए ।
आफूले भिडियो खिचेको थाहा पाएपछि त्यहाँ आएका प्रहरी, ट्राफिक प्रहरीले एक्कासि हातपछि लगेर घिसार्दै आगमन कक्षको प्रतीक्षालयमा लगेको सञ्जय बताउँछन् ।
बाहिरबाटै लतार्दै लगेका प्रहरीले भित्र लगेर बुटले सञ्जयको खुट्को नलीमा हिर्काएको सार्वजनिक भएको भिडियोमै देखिन्छ ।
त्यस्तै विमानस्थलमा भएका अन्यले समेत प्रहरीको अत्याचार देखेर होहल्ला सुरु गरेका थिए । त्यसपछि भने प्रहरीहरूले आफूलाई हल्ला नगर्नु भन्दै पठाएको सञ्जय बताउँछन् ।
यसरी विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीबाटै कुटपिट हुनु दुखद भएको उनी बताउँछन् । त्यस्तै विदेशबाट फर्किएको मानिस विमानस्थलमा आउँदा फेरिएका नियमहरू बुझाउनुपर्नेमा उल्टै सबै मानिस अघि प्रहरीले कुटपिट गर्दा नराम्रो लागेको उनी बताउँछन् ।