
बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रवादी र राजावादी यतिबेला आमने–सामने भएको टिप्पणी गरेका छन्।
गणतन्त्रवादी र राजतन्त्रवादी बीचको फैसला जनताले मात्रै गर्ने उनको भनाइ छ। जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत ‘नागरिक अन्तर संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्रको सच्चा पहरेदार माओवादी नै भएको भन्दै अहिले राजवादीप्रति अझ बढी आमने–सामने आफ्नो पार्टी मात्रै भएको दाबी गरे।
आफूहरूबाट केही गल्ती भएको स्वीकार गर्दै समयमै सच्चिन तयार रहेको उनले बताए। ‘हामीले भनिराख्या छौँ, गल्ती हामीबाट भयो, हामी सच्चिन चाहन्छौँ, आत्मालोचना गर्छौँ भनेका छौँ, सच्चिने मौका दिनुस्,’ उनले भने ‘हामी राजनीतिक पार्टीहरूले चाहिने भन्दा बढी सहकार्य गर्दा धुलो मैलो भयौँ, जनतामा कन्फ्युजन भयो, फेरी जनताको कुरा सुन्ने हामीले प्रयास गर्नुपर्छ, देशलाई बचाउनुपर्छ।’
जनताले लोकतन्त्र, गणतन्त्र र नेताहरूलाई सबै उस्तै भनेर भाष्य निर्माण गरी तानाशाहलाई मलजल गर्ने काम गर्न नगर्न पूर्वप्रधानमन्त्री दाहालले आग्रह गरे।