
काठमाडौं । सोमबारदेखि प्रहरी महानिरीक्षक आईजी वसन्तबहादुर कुँवरसँगै पाँच एआईजी पनि अवकाश गएपछि ६ पद रिक्त भएको हो ।
कुँवरले अवकाश पाएपनि एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मात्रै सेवामा रहेका थिए । तर, यी तीन जनामध्येबाट पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरको उत्तराधिकारीमा एआईजी दिपक थापालाई आईजीपी नियुक्त गरेको छ ।
थापा आईजीपी नियुक्त भएपछि संगठनमा गिरी र तामाङ मात्र एआईजी छन् । ८ जनामा दुईजना मात्र एआईजी संगठनमा कार्यरत रहेपछि सरकारले बढुवाको तयारी थालेको छ । रिक्त पदका लागि तीन ब्याचका नायब महानिरीक्षक (डिआईजी)हरू प्रतिस्पर्धामा छन् ।
तीमध्ये सबैभन्दा सिनियर चन्द्र कुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल छन् । उनीहरू २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । खापुङ र आचार्य २०७९ चैत ३० गते डिआईजीमा बढुवा भएका हुन् शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डिआईजी भएका हुन् ।
खापुङ अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत छन् भने आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुख छन् । यी तीनै जना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका हुन् । तर, वैकल्पिक सूचीमा रहेका उनीहरू साढे ७ महिनापछि मात्रै भर्ना भएका थिए ।
संसदमा पेस भइसकेको प्रहरी विधेयक आगामी भदौ १९ सम्ममा पारित भएर कार्यन्वयनमा आएन भने उनीहरूमध्ये एकजना प्रहरी महानिरीक्षक बनेर २ महिना संगठनको नेतृत्व गर्ने अवसर पनि पाउनेछन् । त्यसैले रिक्त हुने एआईजीमा उनीहरू तीनजनाको सबैभन्दा बलियो सम्भावना छ ।
त्यसपछि शर्मासँगै डिआईजीमा बढुवा भएका २०५४ को टोलीका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी प्रतिस्पर्धामा छन् । यो ब्याचबाट लामो समय आईजीपी हुने भएकाले बढुवामा टक्कर छ । उनीहरू डिआईजी बढुवामा सिनियर भए पनि प्रहरी निरीक्षक भर्नामा भने अर्को ब्याच २०५३ को टोली अगाडि छ ।
उनीहरु रवि लामिछाने गृहमन्त्री भएको समयमा डिआईजी भएकाले अहिले समस्यामा परेका छन् । कार्की लुम्बिनी प्रदेश प्रहरी प्रमुख, अधिकारी कोसी प्रदेश प्रहरी प्रमुख र उनीहरूसँगै डिआईजी बनेका केसी राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत छन् ।
खासगरी डिआईजीद्धय कार्की, केसी र अधिकारी लामिछाने निकट भएको आधारमा डिआईजीमा फड्को मारेको आरोप लागेको छ । सिनियर ब्याचलाई उछिनेर डिआईजी भएका उनीहरुलाई अहिले २०५३ को टोलीले रोक्ने प्रयास गरेको छ ।
बरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआईजीमा आफूनिकट मन्त्री हुँदा फड्को मारेका उनीहरु अहिले बढुवामै नपर्नसक्ने सम्भावना रहेको गृह स्रोत बताउँछ । तर, अहिले जसरी पनि बढुवा हुनपर्छ भन्दै कार्की र अधिकारी सबै दलका नेताहरुसँग राम्रो सम्बन्ध बनाउन लागिपरेका छन् ।
उनीहरु अहिले आफू एमालेका नेताहरुसँग भेट्दा आफू विद्यार्थी राजनीतिमा अनेरास्ववीयूमा रहेर काम गरेको र कांग्रेसका नेताहरुसँग भेट्दा नेविसंघमा रहेर काम गरेको भन्दै बढुवाको चाकडीमा रहेको बताइन्छ । अब्बल क्षमताका मानिएका कार्की र अधिकारी यस्तैयस्तै फण्डाले गदार्द विवादमा आइरहने गरेका छन् ।
यता, डिआईजी केसी भने नेताको चाकडीमा नजाने भएकाले उनी अहिले एआईजी बढुवामै छुट्ने जोखिम छ । तर, प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् केसी ।
उनीहरुपछि गत ०८१ मंसिरमा सरकारले डिआईजीमा बढुवा गरेका सिद्धिबिक्रम साह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ, डम्बरबहादुर विक पनि एआईजी बढुवाका प्रतिस्पर्धी हुन् । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोली पनि एआईजीको बलियो प्रतिस्पर्धी हो ।
तर सरकारले डिआईजी बढुवाको बरियतालाई मात्र हेर्यो भने यो टोलीबाट एकजना मात्रै एआईजी बन्ने सम्भावना देखिएको छ । यद्यपी बरियता हेरफेर भएको अवस्थामा यो टोलीबाट ३ जनासम्म पर्नसक्ने सम्भावना रहेको गृह स्रोतको दाबी छ ।
यस टोलीबाट बलियो प्रतिस्पर्धी पहिलो नम्बरका साह नै हुन् । नेपाली कांग्रेससँग निकट रहेका साह प्रहरी संगठनमा अब्बल मानिन्छन् । त्यसपछि संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिएका राठौर समेत एआईजीको बलियो प्रतिस्पर्धी हुन् । उनी प्रहरीको सेवाको दौरानमा अहिलेसम्म विवादमा नमुछिएका अधिकृत हुन् ।
त्यसपछि एआईजी प्रतिस्पर्धामा दौडमा उमाप्रसाद चतुर्वेदी छन् । उनी पनि संगठनमा व्यवसायीक प्रहरी अधिकृत ह्नु । उनीहरु तीनैजना एसएसपीसम्म २०५४ सालमा भर्ना भएको टोलीभन्दा अगाडि थिए । तर डिआईजी बढुवामा आईजीपी कुँवर र तत्कालीन गृहमन्त्री लामिछानेले यो टोलीलाई नै छुटाएर बढुवा गरेका थिए ।
एसएसपीमा अन्याय भएको भन्दै एआईजी बढुवामा दानबहादुर कार्कीसहितको टोलीलाई छाडेर बढुवा हुनुपर्ने उनीहरूको तर्क छ । जसकारण कार्की, केसी र अधिकारीको अहिले एआईजी बन्ने सम्भावना कमजोर छ । यो सरकारले उनीहरुलाई सुरुदेखि नै रुचाएको छैन ।
त्यस्तै एआईजी बढुवाको दौडमा २०५३ का हिमालय श्रेष्ठ, डम्बरबहादुर विक र २०५४ कै ब्याचका दिनेश आचार्य, ईश्वर कार्की अरुण पौडेल, राजेन्द्र भट्ट र गोविन्द थपलिया पनि रहेका छन् । उनीहरु पनि संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
यसपटक एआईजी बन्ने होडले भावी नेतृत्वमा पुग्ने अधिकारीहरूको समेत संकेत गर्नेछ । यो टोलीबाट अहिलेकै अवस्थामा एआईजी बनेको ८ महिनापछि नेतृत्वमा पुग्ने अवस्था छ ।