
काठमाडौं । नेपाल प्रहरीमा अन्तिम दिन मात्रै नयाँ प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोही बैठकले नेपाल प्रहरीको ३१ औं आइजिपी नियुक्त गर्नेछ।
नयाँ आइजिपीका लागि एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङबिच प्रतिस्पर्धा छ । उनीहरुमध्येबाट हुने आइजिपी १८ भदौ ०८२ सम्म करिब ६ महिना प्रहरी नेतृत्वमा रहनेछन् । नयाँ आइजिपीबारे समयमै निर्णय नहुँदा अस्वस्थ चलखेल हुने गरेको छ । सोमबार साँझ मात्र प्रहरीले नयाँ आइजिपी पाउने भएको छ । मन्त्रिपरिषद्को निर्णयपछि प्रहरी प्रधान कार्यालयले आइजिपी कुँवरसहितका उच्च अधिकारीको प्रहरी प्रधान कार्यालयमा बिदाई गर्न लागेको छ ।
यसरी अन्तिम समयमा आइजिपी नियुक्ति गरिनु गलत भएको पूर्वएआइजी विज्ञानराज शर्मा बताउँछन् । ‘केही दिनअघि नै नयाँ प्रहरी नेतृत्व टुंगाएर सहज नेतृत्व हस्तान्तरणको अवसर यसपटक पनि सरकारले गुमाएको छ,’ उनी भन्छन्,‘यसरी अन्तिम समयमा नियुक्ति गर्दा यसले प्रहरी संगठनलाई राम्रो हुँदैन ।’
आइजिपी कुँवरसहित नौ उच्च अधिकारीले सोमबारदेखि वकाश पाउनेछन् । एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत, जनक भट्टराई तथा डिआइजीहरू भोला रावल, अर्जुन चन्द र ध्रुवराज राउतले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन् ।