दाङ । देउखुरीको राप्ती गाउँपालिका-५, सिसहनियाँमा रहेको इलाका प्रहरी कार्यालयले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । आज शुक्रबार आफ्नै कार्यालय परिसर सिसहनियाँमा प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सहभागी भएका नागरिकहरूले पछिल्लो समय दाङको लमही-भालुवाङ सडक खण्डमा सवारी दुर्घटना अत्यधिक मात्रामा बढेकोले त्यसको रोकथामका लागि प्रहरी सँग आग्रह गरेका छन् । उनीहरूले ट्राफिक प्रहरीलाई लाइसेन्स चेकजाँच मात्र नगरी गाडीको गति नियन्त्रण र मापसेलाई बढी निगरानी बढाउन सुझाव दिएका छन् ।
त्यस्तै सहभागीहरूले बढ्दो नदीजन्य पदार्थ चोरीका घटना रोकथाम, लागू औंषध सेवन तथा ओसारपसार रोक्न र सञ्चार उद्यमी हेमराज धितालको हत्यारा लगायत जिल्लामा विभिन्न समयमा भएका जघन्य अपराध तथा हत्याका दोषी पक्राउ गर्न नेपाल प्रहरी असफल भएको भन्दै प्रहरी सँग नागरिक सँगै सहभागी सञ्चारकर्मीहरूले गुनासो गरेका छन् ।
कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता ईश्वर थापाले नागरिकले राखेको जिज्ञासा प्रति आफू र आफ्नो संगठन गम्भीर रहेको बताउनु भएकाे छ । डिएसपी थापाले नागरिकलाई प्रत्याभूति हुने गरि सुरक्षा दिने काम प्रहरीको मात्र नभई नागरिकको पनि रहेको बताउनु भएकाे थियाे । उहाँले सवै काम प्रहरीले गर्छ भन्नू भन्दा पनि रहेक घटना, दुर्घटनामा नागरिकको साथ सहयोग आवश्यक पर्ने हुँदा नेपाल प्रहरीलाई नागरिकले सहयोग गरे मात्र पुर्ण रूपमा शान्ति सुरक्षा कायम हुने बताउनु भएकाे थियाे । त्यस्तै डिएसपी थापाले बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न पुस १५ गते देखि लमही- भालुवाङ सडक खण्डमा गति मापन यन्त्र मार्फत परिक्षण गर्ने बताउनुभयाे । त्यस्तै उहाँले चालक आफै र नागरिक जिम्मेवार भए सडक दुर्घटना कम हुने बताउनुभयाे ।
कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, सर्वोदय मावि सिसहनियाँका प्रधानाध्यापक विनोद कुमार गुप्ता, पुर्व प्रहरी उपरीक्षक श्याम नारायण चाैधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधान सम्पादक सन्तोष कुमार गुप्ता, एबिसी सञ्चार डटकमका समाचार प्रमुख विदुर एमसी, मुक्तिनाथ विकास बैंकका प्रबन्धक दिपक पाण्डे, हरियाली बचत तथा ऋण सहकारी संस्थाका शोभाकर आचार्य, स्थानीय गंगा केसी लगायतका वक्ताहरूले आ-आफ्नो भनाई समस्या तथा गुनासो राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता ईश्वर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझीले गर्नु भएकाे थियाे ।