भारतीय प्रधानमन्त्रीका पूर्व निजी सुरक्षा अधिकारीले ओली नेतृत्वको सरकार एक महिनाभित्र ढल्ने दाबी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एकताका सुरक्षा गार्ड (एनएसजी) रहिसकेका लक्की बिष्टले नेपालमा सरकार ढल्न लागेकाे ठोकुवा गरेका हुन्। अन्तर्राष्ट्रिय एजेन्सीको लागि काम गर्दा ‘सूचना’ सबैभन्दा महङ्गो हुने जनाउँदै उनले नेपालको सरकार छिट्टै ढल्न लागेको सूचना आफूसँग रहेको जिकिर गरे।
‘आज डिसेम्बर १२ तारिख हो,हाम्रो लागि महत्वपूर्ण विषय भनेको गुप्त सूचना हुन्छ’, नवभारत टाइम्ससँगको अन्तर्वार्तामा सनसनीपूर्ण खुलासा गर्दै बिष्टले भनेका छन्, तपाईंलाई आश्चर्य लाग्न सक्छ, तर म एउटा खुलासा गर्दिन्छु कि नेपालको सरकार ढल्नेवाला छ।’
उनले आफ्नो दावीलाई नोट गरेर राख्न पटक -पटक आग्रहसमेत गरेका छन्। ‘१५ दिनदेखि एक महिनाभित्र नेपालको सरकार ढलेको समाचार पढ्न पाउनुहुनेछ,जुन सरकार तीन/चार महिनाअघि मात्र बनेको थियो। त्यतिबेला तपाईंलाई लक्की बिष्टले भनेको कुरा याद आउनेछ,यो कुरा नोट गरेर राख्नुभए हुन्छ’,बिष्टले दावाका साथ भनेका छन्।
नेपालको सरकार बनाउने र ढाल्ने खेलमा भारतको प्रत्यक्ष संलग्नता रहने भाष्य बनिरहँदा ‘रअ’का पूर्वअधिकारीले मिति नै तोकेर यस्तो दावी गरेपछि यतिबेला राजनीतिक बृत्तमा अनेकौँ आशंका सिर्जना भएकाे छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै सरकार ढल्न सक्नेसम्मको चर्चा चलेको थियो।
प्रधानमन्त्री स्वयंले भने भारत भ्रमणको तयारी भइरहेको बताउँदै आएका छन्। केही दिनअघि झापाको एक कार्यक्रममा उनले भनेका थिए, ‘मान्छेहरुले पत्याएका छैनन् होला,तर म भारत पनि जान्छु,तयारी भइरहेको छ।’एजेन्सी