महोत्तरी । जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय) महोत्तरीका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायव सुब्बा अशोक कुमार यादवलाई घुससहित पक्राउ गरेको हो ।
सवारी ज्यान कसुर सम्बन्धी मुद्दामा एकजना सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियार कार्यालय बर्दिबासबाट खटेको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको बताइएको छ ।
सवारी ज्यान मुद्दामा सवारी धनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकबालाले पटक–पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित निवेदन आयोगमा दिएका थिए ।
यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।