(एबिसि संचार ) मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्न सफल भएको छ । आइतबार भएको खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले लगाता दोस्रो जित निकालेको हो ।यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।नेपाली टोलीको जितमा ओपनर सीता रानामगरले अविजित ३२ रनको योगदान गरिन् । उनले ३७ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरिन् । रुबिना क्षेत्रीले पनि अविजित १७ रनको योगदान गरिन् । उनले २४ बलमा एक छक्का र एक चौका हिर्काइन् ।
ओपनर कविता कुँवर पाँच र कप्तान ईन्दू बर्मा एक रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । भुटानका बलर अञ्जु गुरुङ र अञ्जुली चालीले एक–एक विकेट हात पारेका थिए ।
लगातार दुई जितसँगै नेपालले क्वार्टरफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । नेपाल चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । दुईमध्ये एक खेलमा जित हात पारेको भुटान दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । भुटानले शनिबार भएको आफ्नो पहिलो खेलमा मालदिभ्सलाई ९४ रनले हराएको थियो ।एक–एक खेलेका हङ्कङ र माल्दिभ्सले भने खाता खोल्न सकेका छैनन् । यी चारवटै टोली प्रतियोगिताको समूह ‘डी’ मा परेका छन् । नेपाली टोलीले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल मंगलबार मालदिभ्ससँग खेल्ने छ ।