०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले रोमाञ्चक जित हात पारे

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ २५, २०८०

(एबिसि संचार )                                                                पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।नेपालको जितमा कप्तान रोहित पौडेल नायक बने । उनी एक्लैले चार विकेट लिए । यससँगै नेपाल  हारिसकेको खेलमा  कमब्याक हुन सफल भयो ।    उनले ८.५ ओभरमा दुई मेडन राख्दै केवल २२ रन खर्चिए । यसैगरी ललित राजवंशीले पनि दुई विकेट हात पारे । सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले पनि एक–एक विकेट लिए ।  टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि दुई सय १७ रनमात्र बनाउन सक्यो । सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो । शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुर मैदानमै खेलिने छ ।क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । क्यानडाका लागि परगत सिंह ५० र निकोलस किर्तनले ६८ रन बनाएका थिए । हर्ष ठाकेरले पनि ३२ रन बनाए । क्यानडाले अतिरिक्त रुपमा १७ रन पाएको थियो ।

ब्याटिङतर्फ नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान गरे । आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे । कुशल मल्ल २० रन बनाउँदै पेभेलियन फर्किए । भीम सार्कीले १७ रन बनाए । पवन सर्राफ १५ रनमा आउट भए । नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि २७ रनको योगदान गरे । सूर्य तामाङ ३२ बलमा १० रन बनाउँदै अविजित रहे ।  क्यानडाले २.५ ओभरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । रिजन ढकालले लिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै रिजनले विकेट लिएका हुन् । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई आरिफ शेखद्वारा क्याच गराएका थिए । त्यतिबेला नवनितले केवल ६ रन बनाएका थिए ।क्यानडाको दोस्रो विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले क्यानडाका अर्का ओपनर एरोन जोन्सनलाई २० रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सोमपालले जोन्सनलाई एलबीडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको अन्तिम बलमा जोन्सन आउट हुँदा क्यानडाले ३५ रन बनाएको थियो ।क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले मैदानमा जमिसकेका ब्याट्सम्यान परगत सिंहलाई ५० रनमा पेभेलियन फर्काएका थिए । रोहितले उनलाई ललित राजवंशीद्वारा क्याच गराएका थिए । परगत सिंहले ५८ बलमा नौ चौका हिर्काएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा क्यानडाले एक सय १४ रन बनाएको थियो ।

क्यानडाको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका ब्याट्सम्यान हर्ष ठाकेरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । कुशल मल्लले हर्षलाई बोल्ड गरेका थिए । आउट हुनुअघि हर्षले ४३ बलमा तीन चौका हिर्काएका थिए । ३३औँ ओभरको अन्तिम बलमा हर्ष आउट हुँदा क्यानडाले एक सय ७४ रन बनाएको थियो ।

क्यानडाको पाँचौँ विकेट रोहित पौडेलले लिएका थिए । उनले क्यानडाका श्रेयष मोभालाई एक रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । उनले मोभालाई सोमपाल कामीद्वारा क्याच गराएका थिए । रोहितले लिएको यो दोस्रो विकेट हो । ३७.३ ओभरमा मोभा आउट हुँदा क्यानडाले एक सय ८९ रन बनाएको थियो ।

क्यानडाको छैटौँ विकेट पवन सर्राफले लिएका थिए । उनले मैदानमा जमिसकेका ब्याट्सम्यान निकोलस किर्तनलाई ६८ रनको ब्यक्तिग स्कोरमा आउट गरेका हुन् । पवनले निकोलसलाई बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि निकोलसले ९९ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । ४०.४ ओभरमा निकोलस आउट हुँदा क्यानडाले एक सय ९५ रन बनाएको थियो ।क्यानडाको सातौँ विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले क्यानडाका उदय भगवानलाई ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । रोहितले लिएको यो तेस्रो विकेट हो । ४४औँ ओभरको अन्तिम बलमा उदय आउट हुँदा क्यानडाले दुई सय सात रन बनाएको थियो ।क्यानडाको आठौँ विकेट ललित राजवंशीले लिए । ललितले क्यानडाका कप्तान साद बिन जाफरलाई सात रनको ब्यक्तिग स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । ४४.२ ओभरमा जाफर आउट हुँदा क्यानडाले दुई सय सात रन बनाएको थियो ।क्यानडाको नवौँ विकेट ललित राजवंशीले लिएका थिए । उनले क्यानडाका डिल्लन हेलिगरलाई दुई रनमा पेभेलियन फर्काएका थिए । उनले डिल्लनलाई एलबीडब्लूको धरापमा पारेका थिए । ४६.५ ओभरमा डिल्लन आउट हुँदा क्यानडाले दुई सय १२ रन बनाएको थियो ।क्यानडाको दशौँ तथा अन्तिम विकेट रोहित पौडेलले लिएका थिए । रोहितले क्यानडाका ईश्वरजोत सोहीलाई शून्य रनमै बोल्ड गरेका थिए । रोहितले लिएको यो चौथो विकेट थियो । रोहितले ४८औँ ओभरको पाँचौँ बलमा उनको विकेट लिएका थिए ।  त्यसअघि पहिलो ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । विकेटकिपर ब्याट्सम्यान आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धलिवलद्वारा क्याच गराएका थिए ।नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको थियो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए । रोहित आउट हुँदा नेपालले १४.३ ओभरमा ७१ रन बनाएको थियो ।नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ६२ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । कुशल भुर्तेलले १३.४ ओभरमा ४४ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए ।कुशल भुर्तेल क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान पनि बनेका छन् । कुशल भुर्तेलको विकेट क्यानडाका बलर साद बिन जाफरले लिएका थिए । जाफरले उनलाई विकेटकिपर श्रेयस मोभाद्वारा स्टम्पिङ गराएका थिए । १८.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ९८ रन बनाएको थियो ।नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २६ बलमा दुई चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर साद बिन जाफरले एलबीडब्लूको धरापमा पारेका थिए । २२.३ ओभरमा भीम आउट हुँदा नेपालले एक सय १२ रन बनाएको थियो ।नेपालले पाँचौँ विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । उनी ३२ बलमा एक छक्का र एक चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । हर्ष ठाकरले लिए । ठाकरले उनलाई निकोलस किर्टनद्वारा क्याच गराएका थिए । २९.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ४१ रन बनाएको थियो ।  नेपालले छैटौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । उनी ३८ रन बनाउँदै आउट भएका थिए । उनले ५० बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर उदय भगवानले बोल्ड गरेका थिए । ३८.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७३ रन बनाएको थियो ।नेपालले सातौँ विकेटका रुपमा पवन सर्राफलाई गुमाएको थियो । उनी ३४ बलमा एक चौकाको मद्दतले १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई क्यानडाका बलर साहिद अमहदजाईले एलबीडब्लूको धरापमा पारेका थिए । ४१.१ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८१ रन बनाएको थियो ।नेपालले आठौँ विकेटका रुपमा सामपाल कामीलाई गुमाएको थियो । उनी २७ रन बनाउँदै आउट भएका थिए । उनले २३ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर उदय भगवानले परगत सिंहद्वारा क्याच गराएका थिए । ४८.५ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय १८ रन बनाएको थियो ।नेपालले नवौँ विकेटका रुपमा रिजन ढकाललाई गुमाएको थियो । उनी चार बलमा चार रन बनाउँदै आउट भएका थिए । उनलाई क्यानडाका बलर ईश्वरजोत सोहीले साहिद अहमदजाईद्वारा क्याच गराएका थिए । ४९.५ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय २३ रन बनाएको थियो ।नेपालले दशौँ तथा अन्तिम विकेटका रुपमा ललित राजवंशीलाई गुमाएको थियो । उनी अन्तिम ओभरको अन्तिम बलमा रन आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले एक बलमा एक रन बनाएका थिए ।नेपालले अतिरिक्त रुपमा पनि १४ रन पाएको थियो । क्यानडाका बलर उदय भगवानले तीन विकेट लिएका थिए । साद बिन जाफर र ईश्वरजोत सोहीले दुई–दुई विकेट हात पारेका थिए । साहिद अहमदजाई र हर्ष ठाकेरले पनि एक–एक विकेट लिएका थिए । क्यानडाविरुद्धको पहिलो खेलमा नेपालका दुई ब्याट्सम्यान रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

  दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा सतर्क रहनुहोला ।प्रतिस्पर्धिहरु सलवलाउने छन् ।विरोधिहरु सलवलाउनेछन् ।परिश्रम अनुरुप लाभ प्राप्त नहुदा मन खिन्न होला ।नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।स्वास्थयमा विशेष ख्याल राख्नु पर्नेछ ।व्यवसायमा केहीँ सफलता मिल्नेछ । बृष राशि -नकारात्मक सोचबाट बचेर काम गर्दा लाभ हुनेछ ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज […]

error: Content is protected !!