ABC (क्राईमबिट) नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक(एसपी) अवकाशप्राप्त डिआइजीबाट कुटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ती एसपी गत मंगलबार बेलुका दरबारमार्गस्थित याक एन्ड यती होटलमा कुटिएका छन् ।
मदिरामा मात्तिएर असभ्य शैली देखाएपछि उनलाई पूर्व डिआइजी दीपक कुमार थापाले त्यसरी कुटेको स्रोत बताउँछ । विराटनगरका व्यवसायी राजेन्द्र राउतको छोराको बिहेको भोजमा सो घटना भएको हो ।
विगतमा पनि विवादका कारण पटक पटक कारबाहीमा परेका ती एसपीले मरिदामा मात्तिएर प्रहरी महानिरीक्षक लगायत प्रहरी अधिकारीलाई गाली गरेका थिए । पूर्व प्रहरीलाई समेत गाली गरे । त्यस्तो नगर्न पटक पटक सम्झाउँदा पनि नमानेपछि पूर्व डिआइजी थापाले उनलाई दुई झापड हानेको स्रोत बताउँछ । त्यती हुँदा पनि उनी सुध्रिएनन् । पछि जिल्ला प्रहरी परिसर, काठमाडौंका एक डिएसपी त्यहाँ पुगेर उनलाई फकाएर घर पठाएका थिए । उनको हर्कत देखेर भोजमा सहभाीहरु समेत चकित भएका थिए । एसपीले सार्वजनिक कार्यक्रममा पूरै संगठनको बेइज्जत गरेकाले छानबिन गरी कारबाही हुनुपर्ने माग प्रहरीमा उठेको छ ।