१० माघ २०८१, बिहिबार
23-01-2025 , Thu
×

रुपन्देही जिल्ला अदालतमा (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ १०, २०८१

रुपन्देही । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आज (बिहीबार) देखि रुपन्देही अदालतमा थुनछेक बहस हुँदैछ । बुधवार रुपन्देही जिल्ला अदालतमा आफै हाजिर भएपछि अदालतले बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्मा लगाएको थियो ।

लामिछानेसँग बयान लिएका जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीले थुनछेक बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई श्रीमती र उनकै पक्षका कानुन व्यवसायीको जिम्मामा छोड्ने आदेश गरेका थिए । अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले लामिछानेलाई श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायी नारायणदत्त कँडेलको जिम्मा लगाएको र आज थुनछेक बहस हुने बताए ।

लामिछाने आज शर्तअनुसार बिहान १० बजे अदालतमा उपस्थित हुनेछन् । यसपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत, रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । थुनछेक बहस सकिएपछि रुपन्देही अदालतले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने आदेश दिनेछ ।

थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गर्ने छन् । सहकारी पीडितका तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । त्यसैगरी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारीसहितले बहस गर्ने तयारी छ ।

यसअघि स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीसम्बन्धी अभियोगमा भने काठमाडौं जिल्ला अदालतले लामिछानेलाई न्यायिक हिरासतमै राखेर बयान र थुनछेक बहस गराएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस चल्दा पनि उनलाई हिरासतमै राखिएको थियो ।

ती दुवै अदालतमा उनले हिरासत बााहिरै बसेर थुनछेक बहसमा सहभागी हुन पाउनुपर्ने अपिल गरेका थिए । रुपन्देही अदालतले भने उनको मागअनुसारै बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिरासतबाहिरै बस्ने सुविधा दिएको हो ।

रुपन्देही जिल्ला अदालतमा बुधवार बयानका क्रममा अभियोग पत्रका आधारमा तयार गरिएका झण्डै २ दर्जन प्रश्न गरिएको थियो । त्यसमा लामिछानेले इन्कारी बयान दिएका थिए । गोर्खा मिडियाको आम्दानी र बैंक खातामा जम्मा हुने रकमको सबै जिम्मेवारी र जानकारी कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईमै रहेको उनको दाबी थियो । बयानको अन्तिमतिर उनले आफू मुद्दाको सहयोगका लागि आफै अदालतमा उपस्थित भएको र बिहीबार पनि उपस्थित हुने भएकाले जिम्मा जमानीमै छोड्न याचना गरेका थिए ।

प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । लामिछानेसहितका १४ जनाविरुद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको छ ।

पूरक अभियोग पत्रमा जीवी राई, लामिछाने र जोशीका साथै कुमार रम्तेल, शिवबहादुर गुरुङ, लक्ष्मीप्रसाद पौडेल, दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जनलाई प्रतिवादी बनाइएको छ । विज्ञान राई, नरेश जीसी, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारी पनि प्रतिवादी छन् । उनीहरूमध्ये कुमार रम्तेल र शिवबहादुर गुरुङ पहिले नै पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।

कात्तिक २ मा पक्राउ परेका लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । दुवै अदालतले ‘कसुदार छैनन् भन्ने अवस्था नदेखिएको’ भन्दै उनीसँग धरौटी माग गरेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारीको रकम संगठित ठगीमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको छ । त्यसबाहेक लामिछाने, गोर्खा मिडियाका अध्यक्ष राई र पूर्वउपाध्यक्ष छविलाल जोशीसँग थप १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ । लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड बिगो पनि मागदाबी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन जरुरी रहेकोले सरकारले यसका लागि सदनमा विधेयक लगेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको गलत दुरुपयोगले सबैलाई अफ्ठेरो परेको बताए । ‘सरकार र नेतालाई भन्दा बढी यसको दुरुपयोगले परेका समस्याको बारेमा वास्तविक पत्रकारहरूलाई अवगत […]

  काठमाडौं । महानगर यातायात प्रालिले २० करोड लगानीमा आज (बिहीबार) बाट थप ४० वटा नयाँ बस सञ्चालनमा ल्याएको छ । ३२ सिट क्षमताका यी बसको लम्बाई साढे आठ मिटर रहेको जनाइएको छ । यी बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले जानकारी दिएका छन् । उनले यी […]

काठमाडौं । ट्रफिक प्रहरीले सवारी जाँचको क्रममा कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ । व्यक्तिगत सम्पत्ति र दुख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानुन बमोजिम मात्र कार्य गर्न […]

error: Content is protected !!