२९ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

दाङको कोइलाबासमा हावाबाट बिजुली निकाल्ने तयारी

Logo
प्रकाशित सोमबार, फाल्गुण २६, २०७६

दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ । दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि परीक्षण भइरहेको छ । गत वर्षदेखि यी दुई स्थानमा टावर स्थापना गरी सम्भाव्यता अध्ययन भइरहेको छ । स्याटेलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाइएको इञ्जिनीयर गौरव दुलालले जानकारी दिनुभयो । “कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा त छैन, तर स्याटेलाइटको माध्यमबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइरहेका छौँ”, दुलालले भन्नुभयो । ती दुवै स्थानमा टावर निर्माण गर्नुका साथै पङ्खा पनि जडान गरिएको छ । “असी मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पङ्खाले दुई वर्षसम्म हावाको गति मापन गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत् उत्पादन शुरु गर्नेछौँ”, इञ्जिनीयर दुलालले भन्नुभयो । गत वर्ष स्थापना भएका टावरमा भएको मापनअनुसार अहिलेसम्म राम्रो नतिजा आइरहेको उहाँले बताउनुभयो । एक वर्षको मात्रै परीक्षणले नहुने भएकाले अर्को एक वर्ष पनि परीक्षण मात्रै हुने छ । “दुई वर्षसम्म यसको तथ्याङ्क निकाल्नु पर्छ, दुई वर्षको नतिजाअनुसार मात्र विद्युत उत्पादन शुरु हुन्छ” उहाँले भन्नुभयो । इञ्जिनीयर दुलालका अनुसार विद्युत् उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रतिसेकेण्ड हुनुपर्छ । अहिले हावाको गति मापन गर्ने काम भइरहेको छ । हावाको गति मापन गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने उहाँले बताउनुभयो । पहिलो चरणमा रु ६० लाख बराबरको काम भएको उहाँको भनाइ छ । अहिले देशका २१ ठाउँमा हावाको मापन गर्ने काम भइरहेको छ । यसअघि सात ठाउँमा हावाबाट बिजुली उत्पादन भइसकेको इञ्जिनीयर दुलालको भनाइ छ । उहाँका अनुसार नवलपरासी, सिन्धुली, मकवानपुर, जुम्ला, सुर्खेत, अछाम र पाँचथरमा हावाबाट बिजुली उत्पादन भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । […]

  काठमाडौं । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईं तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि […]

काठमाडौं । अवकाश पाएको दुई महिनामै पूर्व एआईजी भरतबहादुर बोहरा सरकारबाट नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनलाई सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको सदस्य बनाएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा बोहरा सहित बद्रीप्रसाद भट्टराई सदस्यको रूपमा नियुक्त भएका छन्। बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ हुन्। कांग्रेस […]

error: Content is protected !!